Section 7Q
शाखा कार्यालय वा सहायक कम्पनीको दायित्व
(१) एकै समूह अन्तर्गत नेपाल वा विदेशमा सञ्चालित सूचक संस्था वा विदेशमा शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी संस्था स्थापना गर्ने सूचक संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशन बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पालना समूहगत रुपमा गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “अधिकांश स्वामित्व” भन्नाले पचास प्रतिशत वा सोभन्दा बढीको स्वामित्व सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा देहायका विषयहरु समेत समावेश गरी समूहगत नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछः–
(क) ग्राहकको पहिचान तथा सम्पुष्टि र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन सम्बन्धी सूचना आदान प्रदान गर्ने,
(ख) नियमनकारी निकायले तोकिदिए बमोजिम ग्राहक, कारोबार, खाता, लेखा परीक्षण, समूहगत परिपालना र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रम समेतको जानकारी समूहगत रुपमा आदान प्रदान गर्ने, र
(ग) खण्ड (क) वा (ख) बमोजिम आदान प्रदान गरिएका सूचनाको प्रयोग तथा गोपनीयताको सुरक्षा गर्ने पर्याप्त व्यवस्था ।
(३) उपदफा (१) र (२) बमोजिमको व्यवस्था पालना गर्न सम्बन्धित मुलुकको कानूनको कारणले कठिनाई हुने भएमा एकै समूह अन्तर्गत सञ्चालित सूचक संस्था वा विदेशमा शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी संस्था स्थापना गर्ने सूचक संस्थाले नियमनकारी निकायलाई जानकारी दिनु पर्नेछ र त्यस्ता संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन गर्न अतिरिक्त उपाय अपनाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम अवलम्वन गरिएको अतिरिक्त उपायहरु सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन गर्न पर्याप्त नहुने देखेमा विदेशमा खोलेको शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी स्थापना गरेको संस्थालाई नियमनकारी निकायले दफा ७फ. बमोजिमको कारबाही गर्न वा त्यस्तो शाखा वा संस्था बन्द गराउन सक्नेछ ।